Friday, January 21, 2011

एमाले अध्यक्षलाई थप्पड हान्नेविरुद्ध मुद्दा दायर

पिकअप समाचारदाता
इटहरी (सुनसरी), माघ ७ - सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनाललाई थप्पड हान्ने सुनसरी भरौल- ५ का देवीप्रसाद रेग्मीविरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरिएको छ ।
एमाले जिल्ला कमिटी सुनसरीका कार्यालय सचिव गोविन्द कार्कीले रेग्मीविरुद्ध शुक्रबार सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दायर गरेका हुन् । कार्कीको जाहेरीका आधारमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले रेग्मीलाई १५ दिन थुन्न आदेश दिएका छन् । उनलाई तारेखमा छाड्ने वा २८ हजार जरिवाना लिने अधिकार प्रजिअसँग छ ।
पार्टी कार्यक्रममा भाग लिन आएका एमाले अध्यक्ष खनाललाई एक पूर्व कार्यकर्ताले बिहीबार थप्पड हानेका थिए । खनाललाई थप्पड हान्ने ५२ वर्षिय रेग्मीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ ।
'नेताहरुले देश बर्बाद पारे, मर्नुभन्दा बहुलाउनु निको' भन्दै थप्पड हानेको उनले बताएका थिए । रेग्मीलाई माओवादी कार्यकर्ताले उकासेर थप्पड हान्न लगाएको एमालेले दाबी गरेको छ । 'आफ्ना धेरै कार्यकर्ता एमालेमा प्रवेश गरेपछि उनलाई माओवादी कार्यकर्ताले थप्पड हान्न लगाए,' एमाले जिल्ला कमिटी अध्यक्ष रेवतीरमण भण्डारीले दाबी गरेका छन् ।
प्रकाशित मिति: २०६७ माघ ७ ०३:२४

No comments:

Post a Comment