बुधबार अपराह्न जुस खाने पाँचैजना बेहोस भए, तुरुन्तै बनेपाको शिर मेमोरियल अस्पताल ल्याइयो, पाहुनासहित चारजनाको शय्यामा उपचार भइरहेको छ, ५६ वषर्ीया वृद्धा त आइसियूमा छिन्
नारायण सापकोटा
काभ्रे, ७ पुस
रियल जुस खाँदा काभ्रे शारदा बतासेका एकै परिवारका चारजना र एक नातेदार बेहोस भएका छन् । एक वृद्धा त शिर मेमोरियल अस्पतालको आइसियूमा छिन् ।
शारदा बतासे गाविस- ४ निवासी हरिमाया हुमागाईंको घरमा तीन दिनअघि रियल जुस ल्याइएको थियो । बुधबार भक्तपुरबाट पाहुना आएको मौकामा घरका सबैले रियल जुस खाएका थिए । तर, केहीबेरमा सबै बेहोस भए, परिवार पनि, पाहुना पनि ।
बुधबार दिउँसो साढे ४ बजेतिर हुमागाईं परिवारले रियल जुस खाएका थिए, जुस खानेहरू केहीबेरमै बेहोस भए । ५६ वर्षीया वृद्धा हरिकुमारी हुमागाईं, उनकी बुहारी ३३ वषर्ीया पार्वती हुमागाईं, हरिकुमारीका नातिनीहरू १४ वर्षीया प्रकृति हुमागाईं र १२ वर्षीया स्मृति हुमागाईं बेहोस भए । घरमा पाहुना लाग्न आएकी पार्वतीकी बहिनी २२ वर्षीया चण्डिका हुमागाईं पनि बेहोस भइन् ।
उनीहरूलाई उपचारका लागि तत्कालै बनेपास्थित शिर मेमोरियल अस्पतालमा ल्याइएको थियो, अस्पतालमै चारजनाको होस खुलेको थियो । वृद्धा हरिकुमारीको स्वास्थ्यस्थिति गम्भीर भएकोले आइसियूमा राखी उपचार जारी राखिएको छ ।
तीन दिनअघि मात्र हरिकुमारीका छोरा धु्रव हुमागाईंले पनौतीस्थित त्रिवेणी मिनी मार्केटबाट रियल जुसको बट्टा किनेर ल्याएका थिए । पाहुना आएको वेला रियल जुस किनेर खाँदा एक्कासि रिँगटा लाग्न थालेको र त्यसपछि आफूलाई केही थाहा नभएको बिरामी पार्वतीले बताइन् ।
प्रकृति र स्मृति स्थानीय डिभाइन लाइड बोर्डिङ स्कुलका विद्यार्थी हुन् । उनीहरूले स्कुलबाट फर्किएपछि घरमा अभिभावकसँग मिलेर जुस खाएका थिए । जुस खाएको केही बेरदेखि सबैलाई रिँगटा लागेको थियो । तर, को कतिवेला बेहोस भए, थाहा भएन ।
शिर मेमोरियल अस्पतालका चिकित्सक डा. अरुण गुप्ताले जुसभित्र विषाक्त पदार्थ भएकोले यस्तो भएको हुन सक्ने बताए । प्रहरीले उनीहरूले खाएको जुसको बट्टा लिएर आवश्यक कारबाही भइरहेको जनाएको छ ।
रियल जुसले एकै घरका पाँचजना बेहोस भएपछि परिवार र स्थानीयवासी आक्रोशित भएका छन् । 'मान्छेले यसलाई बिरामीलाई ख्वाउने जुस भन्थे, तर यो त मान्छे बिरामी बनाउने ज्यानमारा जुस पो रहेछ,' पीडित हरिकुमारीका श्रीमान् श्यामकुमार हुमागाईंले आक्रोशित हुँदै भने । आफूजस्ता गाउँका मान्छेलाई झुक्याउने रियल जुसका उत्पादकमाथि सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनले बताए ।
रियल जुस खाएर छिमेकी बिरामी भएको थाहा पाएपछि धेरै स्थानीयवासी शिर मेमोरियल अस्पताल आएका थिए । 'पैसा कमाउन जनताको स्वास्थ्यमाथि ठूलो खेलवाड भएको छ, यस्ता कम्पनीमाथि कारबाही गरेर जनताको स्वास्थ्यमा सरकारले विशेष ख्याल गर्नुपर्छ,' स्थानीयवासी प्रह्लाद हुमागाईंले भने ।
डाबरका सञ्चालकलाई बयानका लागि बोलाउने तयारी
सागर पण्डित
काठमाडौं, ७ पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डाबर नेपालका सञ्चालक तथा उच्च अधिकारीलाई बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगले नक्कली मिति राखेर जुस प्याक गरिरहेको पाएपछि बारा टोकनीस्थित डाबरको रियल जुस कारखानामा सोमबार छापा मारी गोदाममा सिल लगाएको छ ।
छापा मार्दा नोभेम्बरदेखि नै जनवरीको मिति राखेर जुस उत्पादन भएको पाइएपछि अख्तियारले ७४ हजार कार्टुन जुस सिलबन्दी गरी छानबिन थालेको छ । अख्तियारका प्रमुख सहन्यायाधिवक्ता समीर सिलवालले बुधबारदेखि छानबिन सुरु गरिएको जानकारी दिए ।
अख्तियार स्रोतका अनुसार डाबर नेपालको रियल जुस कारखानाले उत्पादन मिति नै ढाँटेर जुस उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर असर पार्ने काम गरेकाले डाबरका सञ्चालकहरूसँगसमेत बयान लिनुपर्ने विषयमा बुधबार आयोगका उच्च अधिकारीबीच छलफल भएको थियो । 'डाबर नेपालका सञ्चालक तथा उच्च अधिकारीहरूलाई बयानका लागि बोलाउने निर्णय भएको छ,' अख्तियार स्रोतले भन्यो । छानबिन टोलीका प्रमुख सिलवालले पनि छानबिनका क्रममा आवश्यक परे डाबरसम्बद्ध जोसुकैलाई पनि बयानका लागि बोलाउन सकिने बताए ।
'बुधबारदेखि नै छानबिन थालिएको छ, आवश्यक परे डाबरसम्बद्ध अधिकारीहरूलाई बयानका लागि बोलाउन सकिन्छ,' सिलवालले नयाँ पत्रिकासँग भने । उनले अनुसन्धान प्रक्रिया सम्पन्न गर्न केही दिन लाग्न सक्ने बताए ।
अख्तियारले सिलबन्दी गरेको जुसको कार्टुन कारखाना व्यवस्थापकले गोप्य रूपमा कारखानाबाट अन्यत्र सारिएको जानकारी आएपछि अख्तियारले पनि त्यस सम्बन्धमा छानबिन गरेको थियो । छानबिनका क्रममा सिल गरिएको जुसको कार्टुनबाट जुस ननिकालिएको पाइएको अख्तियारले जनाएको छ ।
आयोग प्रवक्ता ईश्वरीप्रसाद पौड्यालले पनि छानबिनका क्रममा आवश्यक परे डाबरका सञ्चालकलाई बयानका लागि बोलाउन सकिने बताए । 'रियल जुस प्रकरणलाई अख्तियारले गम्भीर रूपमा लिएकाले छानबिनका क्रममा आवश्यक परे डाबरसम्बद्ध जोसुकैलाई पनि बोलाउन सकिन्छ,' प्रवक्ता पौड्यालले भने ।
स्रोतका अनुसार भारतीय कूटनीतिक नियोगका केही गाडी मंगलबारदेखि नै सो कारखानामा ओहोर-दोहोर गरिरहेका छन् । बुधबार पनि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको गाडी डाबरको कारखानाभित्र छिरेको थियो ।