Thursday, December 23, 2010

रुवेल चौधरीलाई कारवाही गराउन सर्वोच्चमा रिट

काठमाडौ, पुस ८ - उपप्रधान मन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीले गरेको भनिएका बिभिन्न गैरकानुनी धन्दाहरुको छानविन गरी कारवाहीको लागि परमादेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

सिन्धुपाल्चोकका दइन्द्र बहादुर ठकुरीले बिहीबार दर्ता गरेको रिटमा प्रधानमन्त्रीको कार्यालय, उपप्रधान मन्त्री सुजाता कोइराला, गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको कार्यालय र बंगलादेशी नागरिक रुवेल चौधरीलाई विपक्षी बनाइएको छ ।

रिटमा विभिन्न पत्रपत्रिकामा आएका विवरणहरुलाई प्रमाणको रुपमा पेश गर्दै चौधरी नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय मिसनमा गरेको खरिद घोटलाको प्रमुख व्यक्ति रहेको, नेपाली टेलीकमको कल वाइपास (भीओआइपी) गर्ने कार्यमा संलग्न रहेको, शुक्ष्म मेमोरियल ट्रष्टमा अबैधानिक रुपमा काम गरेकोलगायतका आरोपहरु लगाईएको छ ।

यि कार्यहरुबाट उन्मुक्तिको लागि सासु कोइरालाको प्रभावलाई दुरुपयोग गरेको तथा सुडान काण्डको छानविन नगराउन प्रधानमन्त्री नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दवाव दिएको समेत उल्लेख गरिएको छ ।

यसरी प्रभावशाली व्यक्तिहरुको आडमा आफ्नो अबैध धन्दा चलाएको भन्दै रिट निवेदनमा उनको बारेमा अनुसन्धान गरी कारवाही अघि बढाउनका लागि परमादेशको माग गरिएको छ ।

रुवेल चौधरी गत महिना पूर्व युवराज पारस शाहसंग चितवनको टाइगरटप्समा झगडा गरेपछि चर्चामा आएका थिए । झगडाकै क्रममा गोली चलाएपछि पारसलाई प्रहरीले तीन दिन हिरासतमा राखेर केही सार्वजनिक अपराधमा मुद्दा चलाएको थियो । उनी चितवन जिल्ला प्रशासन कार्यालयबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

त्यही प्रकरणपछि मिडियाले रुवेलका बारेमा खोजविन गरी समाचारहरु प्रकाशन गर्दै आएको छ । उनी विभिन्न अबैध धन्दामा संलग्न भएको विवरणहरु कान्तपुर दैनिक लगायतले प्रकाशित गरेको थियो ।

No comments:

Post a Comment