सिन्दुर हाल्न नपाउनुको अरु कारण केहि होइन । करेन्ट लागेर क्यान्सर भएपछि उनका दुवै हात काटिए । उनले भने, 'घटना भएपछि त्यतिखेर मन्दिरमा गएर सिन्दुर हाल्न पनि सकिन । अब हाल्नु पर्ला ।'
विद्यालयमा पढ्दा पढ्दै १८ वर्षे विमल राना र १७ वर्षिया राधा कसेरा बीच प्रेम विवाह भएको हो । तीन वर्ष वितेपनि उनले घरको सहयोग नपाउँदा सिंदूर हाल्न मात्र पाएनन, दुवै हात गुमाउन पुगे । तातापानी -९ का विमल र राधाले अन्तरजातीय विवाह गरेका कारण घरबाट निकालिएका हुन् । घर निकालामा परेपछि श्रीमती सहित कामको खोजीमा भारत गएर एक वर्षपछि फर्किए । उनले घरबाट सम्पत्तिको नाममा एक टुक्रा बस्ने बास समेत नपाएको बताए ।
अन्तरजातीय विवाह गरी समाजमा उदाहरणीय बन्ने तातापानीको यो जोडी एक वर्षपछि ३ महिनाको छोरी सहित भारतबाट फर्किएका छन् । घरपरिवारबाट सम्पत्ति होइन उल्टै समाजबाट समेत अपहेलित बन्दा दु:ख लागेको उनले बताए ।
भारतबाट आउँदा समेत आफुहरुलाई छुटाउने प्रयास गरेका बाबुले दर्ता जग्गा विक्री गरी ऐलानी जग्गा समेत दाइ भाइलाई दिएको बताउँदै विमल भन्छन्, 'बस्ने एक टुक्रा जग्गा नभएपछि, पन्तिलाई माइती घरमा छोडी फेरी कमाउन भारत तिर लागे ।'
भरखरै जन्मेको छोरी र पत्निका लागि कमाई ल्याउने सपना बोकेर भारत गएका विमल काम गर्दा करेन्ट लागेर घाइते भएका थिए । १ वर्ष उपचार गर्दा हातमा क्यान्सर लागेका कारण दुवै हात काट्नु पर्यो । करेन्ट लागेको घटना बारे सुनाउँदै विमलले भने, '६ पटक सम्म 'अप्रेशन' गरियो तर, हात काट्नु पर्यो ।'
भारतमा करेन्ट लागर घाइते भई अस्पतालमा बसेको अवस्थामा समेत घरपरिवारबाट भेट्न नगएको बताउँदै विमलले दुखेसो गरे, 'घरबाट भारतमा गई सहयोग गर्ने कोही नभएका कारण क्षतिपूर्ति पाउन सकिएन ।' भारतको एक इलेक्ट्रिक कम्पनीमा काम गर्दा करेन्ट लागी उपचारका क्रममा क्यान्सरका कारण दुवै हात गुमाएका विमलका घरपरिवारका दाजु भाई मात्र होइन, बाबु आमा पनि मुख बोल्दैनन् ।
तातापानी गाविसमै पहिलो पटक अन्तरजातीय विवाह गरेका यी जोडीले गाउँका थापा परिवारले दिएको एक टुक्रा जग्गामा दिन विताउनु परेको छ । परम्परागत विवाह गर्ने योजनामा रहेका उनले घटनापछि अधुरै रहेको बताए । उनले भने, 'परम्परा अनुसार विवाह भएको छैन, तर कानूनी रुपमा भयो ।'
अन्तरजातीय विवाह गर्दा घरपरिवार, समाज गुमाएका उनले सरकारबाट उपलब्ध हुने अन्तरजातीय प्रोत्साहन भत्ता होस् वा हात गुमाएर अपाङ्ग भएवापतको भत्ता कुनै राहात पाउन सकेका छैनन् । राधा एक्लैले अहिले दुई बच्चा र हात गुमाएका पतिको स्याहार सुसार गर्नुपरेको छ भने साँझ विहानको छाक टार्न, गासको जोहो गर्ने जिम्मेवारी पनि राधाको एक्लो काँधमा छ । 'पतिलाई दिशा पिशाव गराउने देखि खान खुवाउने र बच्चा बच्चीको हेरचाह गर्ने काम मात्र होइन, ज्यालादारीमा छिमेकमा गई काम गरी एक छाक जुटाउने काम पनि म गर्छु ।' उनले भनिन ।
दुवै हात गुमाएका विमल आफु कहिले काँही छिमेकमा गोठला गरी केही अन्न ल्याउने गरेको बताउँछन् । उनले उपचारमा समेत समस्या भएको बताए । पतिको कुरामा थप्दै राधा भन्छिन्, 'खाने छाक त हुन्न उपचार कसरी गर्ने ? ।'
प्रकाशित मिति: २०६७ पुस ८ १२:४८
No comments:
Post a Comment