Thursday, December 23, 2010

गच्छदारको फोरम फुट्यो

उपप्रधानमन्त्री तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई चुनौती दिादै उनकै दलको प्रतिनिधित्व गर्ने राज्यमन्त्री सञ्जयकुमार साहले गठन गरे मधेस क्रान्ति फोरम

काठमाडौं, ६ पुस

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक विभाजित भएको छ । लोकतान्त्रिक फोरमका असन्तुष्ट नेताले राजधानीमा छुट्टै भेला बोलाएर मंगलबार मधेस क्रान्ति फोरम गठन गरेको घोषणा गरेका हुन् ।

लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य तथा भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय साह नवगठति मधेस क्रान्ति फोरमको संयोजक रहेका छन् । यसअघि प्रचण्ड नेतृत्वको सरकार विघटन भएपछि जेठ ०६६ मा माधवकुमार नेपालको सरकार गठन हुँदा उपेन्द्र यादव नेतृत्वको फोरम फुटेर गच्छदारको नेतृत्वमा लोकतान्त्रिक फोरम बनेको थियो ।

नवगठित मधेस क्रान्ति फोरममा कृषि राज्यमन्त्री करिमा बेगम, सभासद् रमानन्द मण्डल, केशव झा, डा. आभाष लाभलगायतका नेताहरू रहेका छन् । मधेस क्रान्ति फोरममा सभासद् प्रमोद गुप्ता पनि रहेको स्रोतको दाबी छ । अन्य नेताहरूको नाम भने गोप्य राखिएको र राष्ट्रिय भेलामा जानकारी गराउने उनीहरूले बताएका छन् ।

संयोजक साहले लोकतान्त्रिक फोरम विभाजित भएको बताए । 'तपाईंहरूले यसलाई जसरी बुझे पनि हुन्छ,' उनले नयाँ पत्रिकासँग भने, 'पार्टी फुट्यो भनेर बुझ्दा पनि हुन्छ ।' उनले अब आफू लोकतान्त्रिक फोरमको पार्टी कार्यालयमा नजाने पनि बताए ।

सुरुमा मञ्चको रूपमा र दुई सातापछि राष्ट्रिय भेला गरेर पार्टी दर्ता गर्ने मधेस क्रान्ति फोरमका नेताहरूले बताएका छन् । उनीहरूले हालका मधेसवादी पार्टीहरूले मधेसी हकहितको आवाजलाई बिर्सेको भन्दै नयाँ पार्टी स्थापना गरेको दाबीसमेत गरेका छन् । उनीहरूले दुई सातापछि हुने राष्ट्रिय भेलामा लोकतान्त्रिक फोरमका केन्द्रीय तहका ४० प्रतिशतभन्दा बढी नेता आउनेसमेत बताएका छन् ।

'मधेसका आवाज उठाउन एउटा साझा प्लेटर्फम बनाउन आवश्यक थियो, त्यो प्लेटर्फम हामीले बनायौँ,' संयोजक साहले भने, 'यसमा जुनसुकै पार्टीबाट पनि आउन सक्छन् ।'

नवगठित मधेस क्रान्ति फोरममा रहेका केशव झाले पनि अब आफूहरू लोकतान्त्रिक फोरममा नरहेको बताए । 'अब हामीलाई लोकतान्त्रिक फोरमले कारबाही गर्नसक्छ, कारबाही गर्न बाटो खुलेको छ,' नेता झाले भने, 'यसलाई हामीले पार्टीकै रूपमा लैजान्छौँ, यो हाम्रो बाध्यता हो ।'

स्रोतका अनुसार नवगठित फोरमको विधानसमेत तयार भएको छ । पार्टीअध्यक्ष प्रधानमन्त्रीबाहेक अरू कुनै पदमा रहन नपाउने, ६५ वर्ष उमेर काटेका नेता पार्टीको कार्यकारी पदमा नरहने र उनीहरू सल्लाहकार मात्र रहन सक्नेलगायतका प्रावधान विधानमा राखिएका छन् ।

सोमबार र मंगलबार बोलाइएको भेलामा वितरित हिन्दी भाषामा लेखिएका पर्चामा सभासद् र मधेसी दलहरूले मधेसी जनतालाई धोका दिएको आरोप लगाइएको छ । पर्चामा मन्त्रिपरिषद्मा ४९ प्रतिशत मधेसी मन्त्रीहरू हुँदाहुँदै पनि दौरा, सुरुव्ााल र कोटलाई राष्ट्रिय पोसाक बनाउने निर्णयको विरोध नगरेकोलगायतका आरोपसमेत छन् ।

यसैबीच, लोकतान्त्रिक फोरमका केही नेताहरूले मंगलबार पार्टीको अनौपचारिक बैठक राखेर नवगठित मधेस क्रान्ति फोरमबारे छलफल गरेका छन् । भैंसेपाटीस्थित शरतसिंह भण्डारीको घरमा बसेको बैठकमा पार्टी अनुशासन समितिको बैठक बोलाएर मधेस क्रान्ति फोरममा लागेकाहरूलाई कारबाही गर्ने निर्णय भएको छ ।

पार्टीको नामबाट भएका गतिविधिबारे छानबिन गरिने लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले बताए । पार्टी नफुटेको दाबी गर्दै उनले भने, 'पार्टी फुटेको होइन, केही साथीहरू चोइटिएर जान सक्छन्, त्यो बेग्लै कुरा हो ।' लोकतान्त्रिक फोरमले ९ पुसमा अनुशासन समितिको बैठक बोलाएको छ ।

No comments:

Post a Comment