मकर श्रेष्ठ
काठमाडौ, पुस ९ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल अचेल नयाँबजारस्थित निवास आउँदा-जाँदा नारायणहिटी अगाडिको सीधा र ठूलो बाटो प्रयोग गर्दैनन् । चालकले उनलाई अमृत साइन्स क्याम्पसतिरका भित्री गल्ली-गल्ली छिराउँदै पार गराउँछन् ।
कुनै समयको राजदरबार भनेर उनी यसरी तर्किएका होइनन् । त्यहाँभित्र रहेको परराष्ट्र मन्त्रालयमा राहदानी फारम बुझाउन लाग्ने लामले सडक अवरुद्ध गराएकाले उनले अर्कै बाटो समात्नु परेको हो ।
हुन पनि मेसिन रिडेबल पासपोर्टको फारम बुझाउन लागेको भीडले केशरमहलदेखि लैनचौर, ठमेल हुँदै नयाँबजारसम्मै जाम हुने गरेको छ । भीडले शिक्षा र परराष्ट्र मन्त्रालय आसपासको सडक कार्यालय समयभरि अस्तव्यस्त हुने गरेको छ । एकातिर थामिनसक्नु लाम हुन्छ भने अर्कातिर सर्वसाधारणले जथाभावी बाटो काट्ने र पार्किङ गर्ने गरेका छन् ।
सवारीसाधन र सडकमा हिँड्ने सर्वसाधारणलाई व्यवस्थित पार्न ट्राफिकलाई उस्तै धौ-धौ पर्छ । राहदानी बनाउन सडकमा उभिँदा सवारीसाधनले ठक्कर दिई दैनिक एक-दुई जना सामान्य घाइते हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
नौलो किसिमको राहदानी लिन सबैलाई हतार छ । तर त्यसको फारम बुझाउने ठाउँ एउटै छ । त्यसले पनि भीड अचाक्ली भएको हो । परराष्ट्रमा राति तीन बजेदेखि लाइनमा नबसे फारम बुझाउनै नसकिने स्थिति छ ।
भीडभाड त छँदै छ, अनेकथरी झमेलाले पनि गाउँ-गाउँबाट आएका सर्वसाधारण हैरान छन् । खोटाङका नन्दकुमार राईले फारम लिन र बुझाउन मात्रै आठ दिन खर्चिइसके । 'फारम भरेको मिलेन,' उनले भने, 'फेरि बुझाउन पाएको छैन ।' लेखाइ नमिलेको, फोटोको साइज नमिलेको, कम्प्युटर टाइप गरेको अक्षर सानो/ठूलो भएको जस्ता त्रुटि देखाउँदै परराष्ट्रका कार्मचारीले उनलाई फर्काएका थिए । बिहान सबेरैदेखि लाइन बस्ने उनको फारम बुझाउने पालो २ बजेतिर आउँछ तर कर्मचारीले एउटा न एउटा खोट देखाइदिन्छन् । राजधानी बसाइमा उनको दैनिक ५ सय खर्च भइरहेको छ ।
परराष्ट्र गेटअघि फारम भर्नसमेत दलाल उपस्थित छन् । उनीहरूले फारम भरेको ५० रुपैयाँदेखि दुई सयसम्म लिन्छन् । त्यस्तै फोटो खिचाएको डेढ सयदेखि दुई सय ५० रुपैयाँसम्म । 'फारम भरेको र फोटो खिचेको हामी गाउँबाट आएकासँग मनपरी लिन्छन्, आफैं लेखौं भने बिग्रेला भन्ने डर हुन्छ,' पोखराका यमबहादुर गुरुङले भने, 'पाँच रुपैयाँ पर्ने कलमको ३५ रुपैयाँमा बिक्री गरेर कालो बजारी गरेका छन् ।'
काठमाडौंमा राहदानी बनाउन आउँदा-जाँदा सरकारलाई तिर्ने राजस्वबाहेक २५ हजारभन्दा बढी खर्च हुने उनले बताए । मन्त्रालयमा फारम बुझ्न बसेका कर्मचारीले अक्षर र फोटो नमिलेको भन्दै चार दिन लगातार फर्काएको उनले गुनासो गरे । उनी पाँचौं दिन बिहीबार पनि फारम बुझाउन लाइनमा बसेका थिए । त्यस्तै फारम भर्ने विधिबारे सामान्य जानकारीसमेत कतै नटाँसेको लाइनमा बसेकाहरूले गुनासो गरे ।
प्रकाशित मिति: २०६७ पुस ९ ०८:२८
No comments:
Post a Comment