पूर्ण बीके
तनहुँ, फाल्गुन ५ - वैदेशिक रोजगारीमा रहेका छोराले टेलिफोनबाट तलाक दिए पनि घर नछाडेको भन्दै एक मुस्लिम परिवारले बुहारीलाई ज्यानसम्म लिने धम्की दिएको छ । खाडी मुलुक दुबईमा रहेका मुबारक अली मियाँले फोनमार्फत तलाक दिए पनि घर नछोडेको भन्दै ससुरा इमाम -धर्मगुरु) शशिउल्ला मियाँले बुहारी सलमालाई पटकपटक धम्की दिदै आएका हुन् । दुलेगौंडा, ८ मुस्लिम बस्तीका ससुरा शशिीअलीले घर नछाडे ज्यानैसमेत लिने धम्की दिएको सलमाले बताइन् । शशिअली एमाले सभासद हसिना वेगमका देबर हुन । मुवारकले बिहीबार सलमासँग तलाक भन्दै सम्बन्ध सकिएको फोनमा भनेका थिए । 'सासू-ससुराले तेरो श्रीमान्ले तलाक दिएपछि हामीले के गर्न सक्छौं भनेर तथानाम गाली गर्नुहुन्छ' सलमाले भनिन्, 'जाने पो कहाँ ? तलाक दिएकै हो भने मलाई अधिकार पनि चाहियो ।' १२ र ३ वषर्ीया दुई छोरी रहेकाले घर छाडेर जान नसकेको उनले बताइन । सलमाले दुई वर्षपहिले ससुराले आफूमाथि हातपात गरेकोले अझै सुरक्षित हुन नसकेको गुनासो गरिन् । शशिअलीले बिहीबार केही छिमेकीलाई बोलाएर छोरालाई फोन गरी तलाक बोल्न लगाएको सलमाले बताइन् । 'तेरो श्रीमान्को फोन आएको छ कुरा गर् भनेर मलाई दिइयो' सासू-ससुरासँगै बस्दै आएकी उनले भनिन्, 'श्रीमान्ले एकैचोटि तलाक दिन्छु भन्नुभयो । दुई तलाकभन्दा फोनै फालिदिएँ ।' आफू साक्षरमात्रै भएकोले पटकपटक सासू-ससुराले पढेलेखेकी बुहारी भित्र्याउनुपर्छ भन्दै छोरालाई भन्ने गरेको पनि सलमाले बताइन् । स्याङ्जा माइती भएकी उनको २०५६ मा प्रेम विवाह भएको थियो । पहिला श्रीमान्ले आफूलाई माया गरे पनि बाबुआमाको कुरा सुनेर तीन वर्षयतादेखि बोल्न छाडेको सलमाले बताइन् । 'विदेशबाट बिदामा घर आउँदासमेत नबोल्ने गरे पनि तलाक दिनेसम्मको निर्णय गर्नुहोला भन्ने सोचेकी थिइन्', उनले भनिन्, 'एकैचोटि तलाक दिएपछि अन्योलमा परेकी छु ।'उनले आफ्नो हकअधिकारको लागि आवाज उठाइदिन नागरिक समाज र पत्रकारलाई आग्रह गरेकी छन् । शशिअलीले छोराले फोन गरेर बुहारीलाई तलाक दिएपछि आफूले केही गर्न नसक्ने बताए ।
No comments:
Post a Comment