
पिक–अप संबाददाताकाठमाडौं, २० माघ -नेपालको ३४ औं प्रधानमन्त्री एमाले अध्यक्ष झलनाथ खनाल निर्वाचित भएका छन् । संसदको ठूलो दल माओवादीसहित अधिकांश बामपन्थी दलको समर्थनमा खनाल लोकतान्त्रिक गणतन्त्रको तेस्रो प्रधानमन्त्री निर्वाचित भएका हुन् । निर्वाचनमा खनालले ३६८ मत पाए । उनका प्रतिद्वन्द्वी कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले १२२ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ६७ मत पाए । खनाललाई माओवादीसहित, नेकपा माले, माले-समाजवादी, नेकपा एकीकृतलगायत दलको समर्थन थियो । ६१ वर्षिय खनाल एमालेका तर्फबाट प्रधानमन्त्री हुने तेस्रो नेता हुन् । यसअघि तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारी ०५१ सालमा र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल ०६६ जेठ ९ गते प्रधानमन्त्री भएका थिए । यस्ता छन् खनाल एमाले अध्यक्ष झलनाथ खनालले दोस्रो प्रयासमा मुलुकको कार्यकारी पद प्रधानमन्त्री प्राप्त गरेका हुन् । उनले प्रधानमन्त्रीको पहिलो निर्वाचनमा उम्मेदवारी दिएका थिए । माओवादीले त्यसैबेला आफु नभएपछि माओवादीले समर्थन गर्ने भएपनि आफ्नै पार्टी भित्रको धोकाका कारण पछि हट्नु परेको थियो । पार्टी भित्रै प्रधानमन्त्री माधवकुमार नेपाल र नेता केपी ओलीको दवावमा पार्टीले दुई तिहाइ बहुमत पुगेको अबस्थामा मात्र प्रधानमन्त्रीको उम्मेदवारी कायम रहने गरी उम्मेदवार बनाएकाले उनले फिर्ता लिनु परेको थियो । बुटवल महाधिवेशनमा अध्यक्ष बनेपनि पार्टीभित्र उनीसंगै अध्यक्षमा पराजित ओली र प्रधानमन्त्री नेपालसंग उनको द्वन्द छ । यही द्वन्दमा दह्रो ढंगले उभिन नसकेको भन्दै उनको अलोचनासमेत हुने गरेको छ । तर, पछिल्लो चरणमा उनका बिरोधीहरुले आफु प्रधानमन्त्री हुनका लागि आफ्ने पार्टीका प्रधानमन्त्रीको बिरुद्ध लागेको भनेर अलोचना गर्छन् ।तर,उनी आफे भने राष्ट्रिय सहमतिको लागि त्याग गर्नु पर्ने बताउँदै आएका छन् । उनी अहिलेसम्म दुई पटक मन्त्री बनेका छन् । एक पटक पार्टीको कार्यवाहक महासचिव र एक पटक महासचिव भएका छन् । विसं २०४७ सालको निर्वाचनदेखि नै उनी साँसद रहँदै आएका छन् । २०४६ सालको जनआन्दोलन सफलतापछि बनेको अन्तरिम सरकारमा उनी कृषी, भूमी सुधार र बन तथा वातावरण मन्त्री थिए । त्यसैगरी २०५४ सालको गठबन्धन सरकारमा उनी सूचना तथा सञ्चार मन्त्री रहेका थिए ।झलनाथ खनालको जन्म बिस २००६ साल चैत ३ गते इलामको साँखेजुङमा भएको हो । पिता पुङ्कनाथ र माता मधुमाता खनालको कोखबाट खनाल सातौं सन्तानकोरुपमा जन्मिएका हुन् । खनाल विद्यार्थी जीवनदेखि नै भूमिगत कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । २०२५ सालतिरै कम्युनिस्ट पार्टीको सदस्य बनेका उनी झापा विद्रोहमा लागेका युवाले बनाएको कम्युनिस्ट कोअर्डिनेसन केन्द्र (कोके) को संस्थापकमध्ये एक थिए । ०३५ मा स्थापित तत्कालीन नेकपा मालेको आन्तरिक शक्ति संघर्षको उत्कर्षले उनलाई पहिलोपटक पार्टीको प्रमुख बनायो । ०३९ मा तत्कालीन महासचिव सीपी मैनालीलाई ‘अपदस्थ’ गरेपछि उनी त्यो पदमा पुगेका थिए । ०४६ को चौथो महाधिवेशनसम्म उनले मालेको नेतृत्व गरे । त्यसपश्चात् उनलाई पार्टीको नीतिगत क्षेत्रमा हावी हुँदै गरेका युवा नेता मदन भण्डारीले उछिने । महाधिवेशनबाट विचार र संगठन दुवैको औपचारिक नेतृत्व भण्डारीले लिए । यद्यपि ०४६ सालपछि गठित अन्तरिम सरकारमा भने खनालले पार्टीको प्रतिनिधित्व गरे ।०४९ को बहुचर्चित पाँचौं महाधिवेशनमा भण्डारीको ‘जनताको बहुदलीय जनवाद (जबज)’ विरुद्ध खनाल मैनालीको ‘परिमार्जित नौलो जनवाद’ का पक्षमा उभिए । महाधिवेशनले जबजलाई पारित गरेपछि पार्टीमा खनालको भूमिका पछाडि पर्यो । भण्डारीले मैनालीलाई जस्तो खनाललाई स्थायी कमिटीमा राखेनन् । दासढुंगा घटनापछि नेतृत्वमा आएका माधवकुमार नेपालले खनाललाई अगाडि आउने बाटो खोलिदिए । पोलिटब्युरो पुनर्गठन गरिँदा खनाल पनि त्यसको सदस्य भए । ०५१ मा एमालेको अल्पमत सरकार गठन भएपछि खनाल पार्टीको शक्तिशाली राज्यव्यवस्था विभाग प्रमुख भए । छैटौं र सातौं महाधिवेशनको शक्तिसंघर्ष खनाल अग्रभूमिकामा देखिएनन् । छैटौंमा नेपाल-ओली र वामदेव गौतमबीच संघर्ष उत्कर्षमा पुगेको थियो । पार्टी विभाजन र एकीकरणपछिको सातौं महाधिवेशनमा नेपाल र ओलीको संघर्ष स्थानीय तहसम्म झरेको थियो । तर खनाल कुनै पक्षमा ‘सक्रिय’ देखिएनन् । ०६१ माघ १९ को शाही ‘कू’ लगत्तै नेपाल र ओली पक्राउ परे । केन्द्रीय सदस्यहरूको भूमिगत बैठकले खनाललाई पहिले संयोजक र पछि कार्यवाहक महासचिवको जिम्मेवारी दियो । शाही सत्ताविरुद्धको आन्दोलन संगठित गर्न खनालले राम्रो भूमिका खेले । थुनामुक्त भएपछि नेपाल पुनः नेतृत्वमा आए । तर, संविधानसभा निर्वाचनमा तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल दुई ठाउँबाट पराजित भएपछि खनाल महासचिव भएका थिए ।२०६६ सालको बुटवल महाधिवेशनमा बरिष्ठ नेता केपी शर्मा ओलीलाई हराउँदै खनाल अध्यक्षमा निर्वाचित भएका थिए । खनाल संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नं. १ बाट संविधानसभा सदस्य चुनिएका हुन् । नेतृत्वमा आएपछि उनले पार्टीको मुख्य सिद्धान्त जबजमा संशोधन गर्न खोजेको र माओवादीप्रति नरम दृष्टिकोण राखेको आरोप लाग्यो । माओवादीप्रति देखाएको ‘सद्भाव’ प्रत्युपादक हुनसक्ने आम विश्लेषण गलत सावित गर्दै खनालले माओवादीप्रति कडा दृष्टिकोण राख्ने ओलीलाई पराजित गरे । नेपालको समेत समर्थन पाएका ओलीलाई पराजित गरेकाले पार्टीको शक्ति सन्तुलनमा खनालको पल्ला भारी भएको छ ।खनालले राजनीतिशास्त्र र इतिहासमा स्नातक गरेका छन् ।
No comments:
Post a Comment